कोरोना जोखिम घट्दै गएको निस्कर्षसहित बाँकेमा साउन १५ गतेबाट विद्यालय खोल्ने तयारी


कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित बाँकेमा रहेको एक स्थानीय तहले आगामी साउन १५ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिकाले कुनै विषम परिस्थिती नआए आगामी साउन १५ गतेबाट सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो ।  

गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, प्रधानाध्यापकसहित आइतबार बसेको सर्बपक्षिय बैठकले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।  ‘कुनै विषम परिस्थिती आएन भने अथवा केन्द्र सरकारले कुनै नीति निर्देशन पठायो भने अलग पाटो हो, नत्र साउन १५ गतेबाट विद्यालय खोल्ने निर्णय भएको छं,’ उनले भने । विद्यालयमा सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने सर्बपक्षिय रुपमा सुझाव आएको अध्यक्ष थारुको भनाई छ ।

‘कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठन पाठन ठप्प छ, यस्तो अवस्थामा अब विद्यालय खोलेर पढाई सञ्चालन गर्नुपर्ने सबैको सुझाव आएको छ,’ उनले भने । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा ब्यवस्थापनका लागि अधिकांश वडामा विद्यालयका भवनलाई क्वारेन्टिन तथा आइसोलेसनका रुपमा प्रयोग गरेको थियो । विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टिन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयलाई सेनिटाइज गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । ‘विद्यालय खुल्नु भन्दा पहिले सबै विद्यालयलाई सेनिटाइज गरिनेछ,’ उनले भने ।

गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले राप्ती सोनारीमा कोरोना संक्रमण घट्दै गएको हुँदा पूर्व तयारी स्वरुप साउन १५ बाट विद्यालय खोल्ने निर्णय गरिएको बताए । उनले भने, ‘साउन १५ गतेबाट विद्यालयको अनुकुल अनुसार खोल्ने निर्णय भएको छ, यदी कुनै विषम परिस्थिती सिर्जना भएन भने मात्र यो निर्णय लागु हुनेछ, संघिय सरकारको नीति र परिपत्र पनि आउँला ।’  

सुरुमा माथिल्लो कक्षाका थोरै विद्यार्थीलाई मात्र विद्यालयमा बोलाएर पछि क्रमशः संख्या बढाउँदै लैजाने नीति अबलम्वन गरिने उनले बताए । कोरोना भाइरस प्रभावित विद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले यसअघि रेडियोबाट ट्युसन कक्षा सञ्चालन, घुम्ती शिक्षक परिचालन जस्ता शैक्षिक गतिबिधी चलाएको थियो । उक्त गाउँपालिका क्षेत्रमा ५४ वटा सामुदायिक र १६ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।  

शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव विद्यालय खोल्ने विषयमा केन्द्रबाट कुनैपनि परिपत्र नआएको बताउँछन् । ‘विद्यालय खोल्ने विषयमा मन्त्रालय, विभागबाट कुनै त्यस्तो परिपत्र हामीलाई आएको छैन, तर जिल्लाका कतिपय स्थानीय तहले आफ्नो हिसाबले विद्यालय खोल्न खोजिरहेका छन्,’ उनले भने ।

 
/>