कक्षा ११ को मूल्याँकन सधैँका लागि विद्यालयबाटै गर्ने तयारी, कार्यविधि बनाउने जिम्मा बोर्डलाई

धनगढी, कक्षा ११ को परीक्षा पनि विद्यालयकै मूल्याँकनका आधारमा हुने भएको छ । 

शिक्षा मन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्को शुक्रबार बसेको बैठकले मुल्याँकन कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिएको छ । मूल्याँकन गर्दा अपनाउने विधिका बारेमा विभिन्न अवधारणामा छलफल भए पनि अब देखि कक्षा ११ को परीक्षा विद्यालयबाटै गर्ने र यसलाई व्यवस्थित गर्ने विषयलाई बोर्ड मार्फत् टुङ्ग्याउनु उचित हुने निश्कर्ष  सहित उक्त जिम्मा दिईएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले जानकारी दिए । 

कार्यविधि निर्माण गर्न समय सीमा नतोकिए पनि बोर्डले तत्कालै कार्य शुरु गर्ने र एक दुई दिनमै तयार गर्ने उनले बताए । पाठ्यक्रम लगायतका विषयमा ठूलो समस्या नभएको बताउँदै आईपर्ने साना तिना व्यवहारिक विषय केन्द्रबाट समाधान हुने उनको भनाई छ ।'विद्यालयले गर्ने मूल्याँकनलाई नै आधार मान्ने गरी कार्यविधि बनाउने जिम्मा बोर्डलाई दिईएको हो' उनले भने 'कक्षा ११ को मूल्याँकन गर्ने जिम्मा सधैँको लागि विद्यालयलाईनै दिने गरी कार्य गर्ने र यसमा आईपर्ने व्यवहारिक उल्झन् कार्यविधिले थप स्पष्ट बनाउने छ, पाठ्यक्रम लगायतका विषयमा धेरै समस्या छैन, केही रहेछन् भने हामीले स्पष्ट पार्छौं ।'

कक्षा १२ को परीक्षा भने महामारीको अवस्था सामान्य भयपछी उचित समयमा लिईने उनले बताए ।

कक्षा ११ को अन्तिम मूल्याँकन गर्दा महामारीको अवस्था सामान्य भए पछि विद्यालयलाई फेरी परीक्षा लिन लगाउनु उचित हुने सुझाव पनि उठेको परिषद् श्रोतले जनाएको छ । यस बर्षलाई अब अर्को परीक्षा लिनु भन्दा यस अघि नै लिएका आन्तरिक परीक्षाका आधारमा मूल्याँकन गर्ने र आगामी बर्ष देखि विद्यालयले अन्तिम परीक्षा लिने व्यवस्था गर्नु उचित हुने तर्क पनि उठेको उक्त श्रोतले बतायो ।''आन्तरिक मूल्याँकनका आधारमा त गर्ने तर यस अघि कै परीक्षाको नतिजाका आधारमा कि नयाँ परीक्षा लिने भन्ने विषयमा परिषद्मा विभिन्न तर्क आएका थिए' । उक्त श्रोतका अनुसार  'यस्ता सबै विषयलाई कार्यविधि बाटै निरुपण गर्नु उचित हुने ठहर गरेर बोर्डलाई जिम्मा दिईएको हो ।'

मूल्याँकन अघि परीक्षाफलको प्राविधिक विषय स्पष्ट गर्न आवश्यक छ । विद्यार्थीको मूल्याँकन ढाँचा र विद्यार्थीलाई उपलब्ध गराउने प्रमाणपत्रको विषय कसरी टुङ्ग्याउने भन्ने कुरा कार्यविधिले प्रष्ट पार्नु जरुरी हुन्छ । किन भने साविकको व्यवस्थामा कक्षा ११ र १२ को छुट्टा छुट्टै ट्रान्सकिप्ट दिने व्यवस्था छ । 

त्यस लगायत प्रमाणिकरण कसरी गर्ने, आगामी दिनमा त्यो परीक्षा कसरी सञ्चालन गर्ने जस्ता विषय पनि स्पष्ट पार्नु जरुरी छ । परीक्षा के गर्ने भन्ने विषयमा परिषद्मा छलफल भएको आफूले पनि सुनेको बताउँदै बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले औपचारिक जानकारी प्राप्त भए पछि आवश्यक कार्य गर्ने बताए ।

उनले भने 'परिषद्मा छलफल भएको भन्ने सुनेको छु, औपचारिक रुपमा निर्णयको प्रति आए पछि त्यही अनुसार गर्नु पर्ला' ।  कक्षा १२ सम्म विद्यालय तह र विद्यालय तहसम्मको शिक्षा स्थानीय सरकार मातहत भएको अवस्थामा साविकको एसईईकै शैलीमा कक्षा १० को अन्तिमको परीक्षामा तामझाम गर्न जरुरी नभएको र ११ को परीक्षा पनि बोर्डबाट गर्न जरुरी नरहेको बताईदैं आएको थियो । यस अघि गएको असार ३ गते राष्ट्रिय सभामा बोल्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ को परीक्षा विद्यालयकै मुल्याँकनका आधारमा गर्ने बताई सकेका थिए ।


 
/>