धनगढी, विहिवार थप ३५ जनामा कोरोना पुष्टि सँगै सुदुरपश्चिममा संक्रमितको संख्या तीन हजार ९ सय ६ पुगेको छ। धनगढीमा भएको परीक्षणमा १६, डडेल्धुरामा भएको परीक्षणमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा तीन गरी आज थप ३५ जना संक्रमित भेटिएका हुन् ।
आज बझाङका १६, कैलालीका ८, अछामका चार जना, बाजुरा, डोटी र कञ्चनपुरका दुई दुई जना र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा बझाङका १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ८ महिला र ८ पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ९ का पाँच जना, गौरीगंगा नगरपालिकाका तीन जना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक जना र भीमदत्त नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ।
बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर १ का दुई जना, अछामको साँफेवगर नगरपालिकाका दुई जना, मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ५७ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सबैभन्दा बढि कैलालीका नौँ सय ८ जना, अछामका ६ सय २४, बाजुराका ६ सय १५, डोटीका पाँच सय ७७, कञ्चनपुरका चार सय ४३ जना, डडेल्धुराका दुई सय ८०, बैतडीका दुई सय ७४, बझाङ एक सय ६६ र दार्चुलामा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिममा कोरोना पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने नौँ सय ३८ जना डिस्चार्ज भएका छन्।