पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणमा दुई सय ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।याेसमेत हालसम्म संक्रमित हुनेकाे संख्या १५ हजार चार सय ९१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले विगत २४ घन्टामा दुई सय ७२ जना निकाे भएर डिस्चार्ज भएकाे बताए । हाल संक्रमित भई आइसोलेनमा नौ हजार ४२ जना छन् ।
क्वारेन्टाइनमा बस्नेको संख्या भने निकै घटेको छ । गौतमका अनुसार, हाल क्वारेन्टाइनमा ३३ हजार एक सय २५ जना रहेकाछन् ।
कोरोनाबाट मृत्यु हुने संख्या ३४
कोरोना संक्रमण देखिएका थप दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।कोरोना संक्रमित गोरखाका ४४ वर्षीय पुरुषको २० असारमा मृत्यु भएको हो । उपचारका क्रममा उनलाई अस्पताल भर्ना गरिएको थियो । कतारबाट फर्केका उनी क्वारेन्टाइनमा थिए । कोरोना पुष्टि भएपछि उपचारकै क्रममा उनको मृत्यु भएको गौतमले बताए ।
त्यसैगरी रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा १७ असारमा उनको मृत्यु भएको हो । उनको स्वाब परीक्षणमा १८ असारमा कोरोना पोजेटिभ देखिएको गौतमले जानकारी दिए ।
यो संगै, नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।