आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ/ के के गर्नु हुदैन पितृपक्षमा ? डा टि.एन जोशी

✎डा टि.एन जोशी,
धनगढी, कैलाली
 

पितृहरूको मूत्यु भएको दिन वा तिथिमा उहाँहरूको सम्झना गरि श्रद्धापूर्वक गरिने स्मरणीय कार्य नै श्राद्ध हो।श्राद्ध शब्दलाई बिभिन्न तरिकाबाट अर्थ्याए पनि मूलत: यसले इङ्गित गर्न खोजेको अर्थ एउटै हो- पितृहरूलाई श्रद्धापूर्वक सम्झिनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु, दिवंगत सबै पितृहरूको उद्देश्य राखेर पिण्डदान गर्ने पर्व नै सोह्र श्राद्ध हो, जुन् आजबाट प्रारम्भ भएको छ।सूर्य कन्या राशिमा प्रवेश गर्दा सोह्र श्राद्ध शुरू हुन्छ।आफ्ना दिवंगत पितृहरूको उद्धार, उनीहरूप्रतिको समर्पणभाव र दयाभाव प्रकट गर्न श्राद्ध गरिन्छ।


डा जोशीका अनुसार, पितृपक्ष वा सोह्र श्राद्धको यस अबधिमा गर्न नहुने वा ध्यान दिनु पर्ने केही कुराहरू यसप्रकार रहेका छन।
  • पद्मपुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नु पर्छ।धनी हुनुहुन्छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी गर्नु हुदैन।
  • श्राद्ध गर्दा अरूको स्वामित्व भएको घर वा जमिनमा बसेर गरेमा पितृहरू खुशी नहुने र उनीहरूको शक्ति क्षीण हुने बताइएको छ।यसर्थ अरूको स्वामित्व भएको घर वा डेरामा बस्नेहरूले श्राद्ध तर्पण गर्दा नजिकको तीर्थ वा पवित्रस्थलमा जानु पर्दछ।
  • श्राद्धमा तीन वस्तु पवित्र मानिन्छन्- छोरीको छोरा (नाति), दिनको आठौं भाग र कालो तिल।
  • श्राद्ध कालमा गीता, भागवत, पितृसूक्त,पितृसंहिता, रूद्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि फलदायक छ।
  • श्राद्धका दिन घरमा दही मथ्नु नहुने चलन छ।
  • श्राद्धकै दिन कपाल काटुनु हुदैन।अघिल्लो दिन मुण्डन गर्नु पर्दछ।
  • यस अबधिमा भण्टा, गाजर, मसुरोको दाल, रहर, लौका, हींग, प्याज, लसुन, माछा मासु सेवन, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि ब्रत, उत्सव, उद्यापन र बधू प्रबेश लगायतका कार्य बर्जित छन्।
  • घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वा कुनै मांगलिक कार्य गर्न बर्जित छ। साथै,
  • भूमि पूजन, इनार पूजा, सन्यास ग्रहण र व्यापारको श्रीगणेश पनि यस अबधिमा गर्नु शुभ नहुने शास्त्रमा उल्लेख छ।

अन्तमा, पितृपक्ष वा सोह्र श्राद्धको यस पावन अवसरमा समस्त दिवंगत पितृहरूप्रति नमन गर्दे हार्दिक श्रद्धासुमन व्यक्त गर्दै,यस वर्ष कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखी सबैलाई स्वास्थ्य मापदण्ड अनुसार संयमित भै भीडभाड नगरि, भौतिक दुरी कायम राखी सुरक्षित तरिकाले श्राद्ध गर्न पनि उनले आग्रह गरेका छन् ।

 
/>