स्वास्थ्य मापदण्ड पालना गर्ने शर्तमा गोदावरी प्याबसनद्धारा विद्यालय संचालन गर्न माग



 अत्तरीया

गोदावरी प्यावसनले स्वास्थ्य मापदण्ड पालना गर्ने शर्तमा विद्यालय सञ्चालन गर्न अनुमति दिन गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउँदसँग माग गरेका छन् । अनलाइन कक्षाका लागि सबै अभिभावकहरुसँग मोबाइल, कम्प्युटर र इन्टरनेटमा पहुँच नरहेका कारण प्याबसनले स्वास्थ्य मापदण्ड सहित विद्यालय सञ्चालन गर्न माग गरेका हुन । 

गत असार देखि यस क्षेत्रका केही विद्यालयहरुले अनलाइन कक्षा सञ्चालनको प्रयास गरेपनि सबै विद्यार्थीहरुको पहुँच नभए पछि निरन्तरता पाउन सकेन । कोरोना महामारीका कारण विगत छ महिना देखि विद्यालय पठनपाठन बन्द रहेका छन् । 

कार्यक्रममा बोल्दै गोदावरी प्यावसनका अध्यक्ष मान बहादुर चन्दले तह अनुसार पालैपालो कक्षा सञ्चालन गर्न सके मात्रै प्रभावकारी सिकाइ हुने अन्यथा यस शैक्षिक सत्रको सिकाइ खेर जान सकिने बताए । यस्तै, प्याबसन प्रदेश सदस्य धर्मदेव नौन्यालले लामो समयसम्म विद्यालय बन्द रहँदा विद्यालय लगायत शिक्षक कर्मचारीहरुको अवस्था दयनीय रहेको शिघ्र निकास दिन नगर प्रमखसँग माग राखेका  छन् । 



अर्थविद गिरीराज कडायतले लाखौंको संख्यामा रोजगारी सिर्जना गरेको संस्थागत विद्यालयहरुलाई चलायमान बनाउन सके मात्र आर्थिक तथा शैक्षिक दुबै क्षेत्रको दिगो विकास हुन सक्ने बताए । त्यसै गरी केन्द्रिय उपाध्यक्ष जगवीर थापाले स्थानीय सरकारको सहयोग र सहकार्यले मात्र निजि विद्यालयहरुले प्रभावकारी शिक्षा दिन सक्ने हुनाले यस संकटको घडीमा चाँडो निकास दिनुपर्ने माग गरेका हुन । 

नगर प्रमुख साउँदले शिक्षा शाखा लगायतका सरोकारवालहरुसँगको सामुहिक छलफल मार्फत अगाडी बढ्न सकिने जानकारि दिए । उनले संघीय सरकारले दिएको निर्देशिका बमोजिम सिकाइलाई निरन्तरता दिन सामुदायिक तथा निजि विद्यालयहरुलाई अनुरोध समेत गरेका हुन ।


प्याबसन नगर कमिटीका अध्यक्ष मान बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमलाई नगर कमिटी सचिव श्याम खत्रीले सहजीकरण गरेका थिए ।  

 
/>